इङ्ल्याण्ड र बेल्जियम अन्तिम १६ मा, बेल्जियमको ऐतिहासिक पुनरागमन

बिहीबार, असार १८, २०८३

काठमाडौँ । २०२६ फिफा विश्वकपको अन्तिम ३२ का खेलमा इङ्ल्याण्ड र बेल्जियम विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।

मंगलबार राति सम्पन्न खेलमा कप्तान ह्यारी केनको दुई गोलको मद्दतमा इङ्ल्याण्डले लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) लाई २–१ ले पराजित गर्दै नकआउट चरणमा आफ्नो यात्रा अघि बढाएको हो।  यस जितसँगै इङ्ल्याण्ड अन्तिम १६ मा पुगेको छ। अब उसले क्वार्टरफाइनल प्रवेशका लागि मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। डीआर कङ्गो भने सन् १९७४ पछि पहिलोपटक विश्वकप खेले पनि अन्तिम ३२ बाटै बाहिरिएको छ।

यता, अर्को रोमाञ्चक खेलमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरी अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

खेलको २५औँ मिनेटमा हबिब डियाराको गोलबाट सेनेगलले अग्रता लिएको थियो। साडियो मानेको पासमा डियाराले गोल गरेका हुन्। त्यसपछि ५१औँ मिनेटमा स्माइला सारले मौसा नियाखाटेको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गरेपछि सेनेगल २–० ले अघि बढेको थियो।

तर खेलको अन्तिम चार मिनेटमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्‍यो। ८६औँ मिनेटमा थोमस मुनियरको पासमा रोमेलु लुकाकूले गोल गर्दै अन्तर घटाए। त्यसको तीन मिनेटपछि लियान्द्रो त्रोसार्दको क्रसमा यौरी टाइलेमान्सले हेडमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए।

अतिरिक्त समयको इन्जुरी समयमा भीएआरमार्फत बेल्जियमले पेनाल्टी पायो। टाइलेमान्सले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को ऐतिहासिक जित दिलाए।

विश्वकप इतिहासकै सबैभन्दा ढिलो गोलका रूपमा समेत दर्ज भएको उक्त गोलले बेल्जियमलाई अन्तिम १६ मा पुर्‍याएको हो। अब बेल्जियमले पनि क्वार्टरफाइनल प्रवेशका लागि आफ्नो आगामी प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०७:४५
प्रतिक्रिया दिनुहोस्