विश्वकप २०२६: फ्रान्स र नर्वे विजयी हुँदै प्रि - क्वार्टरफाइनल

बुधबार, असार १७, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ (राउन्ड अफ ३२) का खेलमा फ्रान्स र नर्वे विजयी हुँदै अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा प्रवेश गरेका छन्। फ्रान्सले स्वीडेनलाई ३–० ले पराजित गर्दा नर्वेले आइभोरी कोस्टमाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको हो।

अमेरिकाको न्यु जर्सीमा अत्यधिक गर्मीका बीच सम्पन्न खेलमा फ्रान्सका कप्तान किलिएन एमबाप्पे नायक बने। उनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए। पहिलो हाफको इन्जुरी समयमा ओस्मान डेम्बेलेको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५३औँ मिनेटमा माइकल ओलिसेको पासमा ब्राडली बारकोलाले दोस्रो गोल गरे भने ७४औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।
यस जितसँगै फ्रान्सले अन्तिम १६ मा पराग्वेको सामना गर्ने भएको छ।

दुई गोलसँगै एमबाप्पेले विश्वकपको नकआउट चरणमा १० गोल पूरा गर्दै सबैभन्दा धेरै नकआउट गोल गर्ने खेलाडीको कीर्तिमान बनाए। साथै, उनले यस विश्वकपमा ६ गोल पुर्‍याउँदै अर्जेन्टिनाका लियोनेल मेसीसँग संयुक्त रूपमा गोल्डेन बुटको दौडमा शीर्ष स्थान कायम गरेका छन्। २७ वर्षको उमेरमै एमबाप्पे विश्वकप इतिहासमा १८ खेलबाट १८ गोल गर्ने दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। उनी मेसीको १९ गोलको कीर्तिमानभन्दा केवल एक गोलले पछि छन्।

यस्तै, अमेरिकाको डालसमा भएको अर्को खेलमा एर्लिंग हालान्डको अन्तिम समयमा गरेको निर्णायक गोलको मद्दतले नर्वेले आइभोरी कोस्टलाई २–१ ले हरायो।

नर्वेका एन्टोनियो नुसाले ३९औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ७४औँ मिनेटमा आइभोरी कोस्टका अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। तर ८६औँ मिनेटमा प्याट्रिक बर्गको पासमा हालान्डले नजिकैबाट गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए।
यस जितसँगै नर्वेले पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जित्दै अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। हालान्डले यस विश्वकपमा पाँचौँ गोल पूरा गरेका छन् भने लगातार १३ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने कीर्तिमान पनि कायम गरेका छन्।

नर्वेका कप्तान मार्टिन ओडेगार्डले पनि उत्कृष्ट प्रदर्शन गर्दै नुसाको गोलका लागि असिस्ट प्रदान गरे। उनी विश्वकपका सुरुवाती तीन खेलमा लगातार असिस्ट गर्ने इतिहासकै तेस्रो खेलाडी बनेका छन्।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ०६:३९
प्रतिक्रिया दिनुहोस्