सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । २०२६ फिफा विश्वकपको राउन्ड अफ ३२ अन्तर्गत ब्राजिलले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। उपाधि दाबेदार जर्मनी भने पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
गए राति भएको ब्राजिल र जापानविरुद्धको खेलमा पहिलो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो। २९औँ मिनेटमा काइशु सानोले व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गरेपछि जापानले १–० को अग्रता बनाएको थियो। पहिलो हाफभर ब्राजिलले केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा जापान अग्रता जोगाउँदै विश्राममा गएको थियो।
दोस्रो हाफमा भने ब्राजिलले खेलमा पूर्ण नियन्त्रण कायम गर्यो। ५६औँ मिनेटमा कासेमिरोले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि पनि ब्राजिलले लगातार आक्रमण गरे पनि जापानको संगठित रक्षापंक्तिले खेललाई अतिरिक्त समयतर्फ धकेल्ने प्रयास गरेको थियो।
तर इन्जुरी समयको ९०ं६औँ मिनेटमा वैकल्पिक खेलाडी गेब्रियल मार्टिनेली नायक बने। ब्रुनो गिमारेसको उत्कृष्ट पासलाई उनले सटिक प्रहारमार्फत गोलमा परिणत गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। अब ब्राजिलले आइभरी कोस्ट र नर्वेबीच हुने खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
यता, आज बिहान भएको अर्को खेलमा उपाधिका प्रमुख दाबेदार मानिएको जर्मनी पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै राउन्ड अफ ३२ बाटै बाहिरिएको छ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म पनि खेल १-१ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट टुंगिएको थियो। सुरुआती पाँच–पाँच पेनाल्टीपछि दुवै टोली ३–३ को बराबरीमा रहे पनि सडेन डेथ पेनाल्टीमा पाराग्वेले बाजी मार्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
जर्मनीका लागि जोसुआ किम्मिच, जमाल मुसिआला र नदिम अमिरीले पेनाल्टीमा गोल गरे भने काइ हाभर्ट्ज, निक वोल्टमेड र जोनाथन ताह गोल गर्न असफल भए। पाराग्वेका मौरिसिओ, गुस्ताभो गोमेज, मातिआस गालार्जा र जोस कानाले गोल गरे भने एन्टोनियो सानाब्रिआ र फाबिआन बाल्बुएना चुके।