दक्षिण कोरियामाथि साँघुरो जित निकाल्दै मेक्सिको विश्वकपको अन्तिम–१६ मा

शुक्रबार, असार ५, २०८३
Honor 600 pro

काठमाडौं । सहआयोजक मेक्सिको फिफा विश्वकप–२०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। शुक्रबार बिहान ग्वाडलाजारामा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा मेक्सिकोले दक्षिण कोरिया लाई १–० ले पराजित गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरेको हो।

प्रतिस्पर्धात्मक खेलको एकमात्र निर्णायक गोल लुइस रोमोले दोस्रो हाफको सुरुआतमै गरे। उनले ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको जितको आधार बन्यो।

खेलभर दक्षिण कोरियाले बल पोजिसनमा पकड जमाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। दुवै टोलीले समान ८–८ पटक प्रहार गर्दा मेक्सिकोका ४ प्रहार लक्ष्यमा पुगेका थिए भने दक्षिण कोरियाका २ मात्र लक्ष्यमा लागेका थिए। पास सटिकतामा पनि दक्षिण कोरिया अगाडि रहे पनि नतिजा आफ्नो पक्षमा पार्न असफल भयो।

यस जितसँगै मेक्सिकोले लगातार दोस्रो सफलता हासिल गर्दै ६ अंक पुर्‍याएको छ र एक खेल बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। दक्षिण कोरियाको खातामा ३ अंक रहेकाले उसको अर्को चरण पुग्ने सम्भावना अझै कायम छ।

समूह ‘ए’ मा रहेका चेक गणतन्त्र र दक्षिण अफ्रिका ले दुई खेलबाट समान १–१ अंक जोडेका छन्। त्यसैले समूहबाट अर्को टोलीको टुंगो अन्तिम चरणका खेलपछि लाग्नेछ।

विश्वकप इतिहासमा मेक्सिको सन् २०१८ मा अन्तिम–१६ सम्म पुगेको थियो भने सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो। यसपटक घरेलु समर्थकको साथमा मेक्सिकोले उत्कृष्ट लय कायम राख्दै नकआउट चरणको यात्रा तय गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०८:५३
प्रतिक्रिया दिनुहोस्