सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज। भेरी अस्पताल नेपालगन्जले सर्पदंशबाट हुने मृत्यु दरलाई यस वर्ष शून्यमा झार्न सफल भएको छ । पछिल्ला वर्षहरुमा सर्पदंशका कारण अस्पतालमै धेरै बिरामीले ज्यान गुमाउँदै आएकोमा यो वर्ष भने उपचारका क्रममा कसैको मृत्यु हुन नपाउनु चिकित्सकहरुका लागि मात्र नभई सम्पूर्ण समुदायका लागि उत्साहजनक उपलब्धि बनेको छ । अस्पतालका सूचना अधिकारीसमेत रहेका इमरजेन्सी विभागका इन्चार्ज डा. संकेत रिसालका अनुसार यो वर्षको पछिल्ला तीन महिनामा ४५० जनालाई सर्पले टोकेको तथ्यांक छ । तीमध्ये करिव ८० प्रतिशत बिरामी विषरहित सर्पको टोकेको पाइएको छ भने बाँकी २० प्रतिशत बिरामीलाई मात्रै एन्टिस्नेक भेनम (सर्पको खोप) प्रयोग गरिएको छ ।
‘अस्पतालमा उपचारका क्रममा एकजनाको पनि मृत्यु भएको छैन–‘डा.रिसाल भन्छन्–‘तर दुःखको कुरा के छ भने २ जना बिरामी अस्पताल पुग्नुअघि ज्यान गुमाइसकेका थिए ।’ भेरी अस्पतालमा ल्याइएकामध्ये एक जना बाँकेको खजुराका ३५ वर्षीय पुरुष र कैलालीकी २२ वर्षीया महिला थिए । तर अस्पतालमा पुर्याइएको बिरामी भने सुरक्षित हुन सफल भएको उनले बताए । बिरामी समयमै अस्पताल आउनु, चिकित्सकहरुको उपचार तयारी र व्यवस्थापनलाई सफलतामा प्रमुख कारण मानिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदी बताउँछन् ।
नेपालमा करिव ९० प्रजातिका सर्पध्ये १८ प्रजातिका सर्प विषालु छन् । विषालु सर्पमध्ये मुख्यगरी गोमन, करेत र भाइपर तीन किसिमका सर्प धेरै छन् । तराईमा पाइने विषालु सर्पमा कमन करेत, स्पेक्टिकल कोब्रा गोमन सर्प, किङ कोब्रा, रसल भाइपर हुन् भने पहाडी जिल्लामा पाइने सर्पमा ग्रीन पिट भाइपर हुन् । डब्लुएचओका अनुसार सर्पको टोकाइबाट नेपालमा करिब ३७ हजारलाई सर्पले टोक्छ । र, ३ हजारको मृत्यु हुने अनुमान छ । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक वर्षमा सरदर १५० जनाको मृत्यु भएको देखिन्छ । गत वर्ष सर्पको टोकाइबाट १४६ जनाको मृत्यु भएको मन्त्रालयसँग रेकर्ड छ । चालू आवमा सर्पको टोकाइबाट १५० जनाको मृत्यु भइसकेको छ ।
यो तथ्यांकका बीच भेरी अस्पतालको उपलब्धि निकै महत्वपूर्ण देखिन्छ । कारण, यो अस्पताल पश्चिम नेपालकै प्रमुख रेफरल अस्पताल अस्पताल हो जहाँ बाँके, बर्दिया, दाङ मात्र नभई कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट समेत सर्पदंशका बिरामी उपचारका लागि आउने गर्छन्। यहाँ बिरामीलाई ल्याउनासाथ इमरजेन्सीमा विभागमा तत्काल भर्ना गरिन्छ । मेडिकल अधिकृतको नेतृत्वमा नर्स र स्वास्थ्यकर्मीको टिम २४ सैं घण्टा सक्रियरुपमा खटिएको हुन्छ । गम्भीर प्रकृतिका बिरामीलाई आइसीयूमा राखेर उपचार गरिन्छ । सर्पदंशका कारण विगतमा मृत्यु हुने मुख्य कारण समयमै अस्पताल नपुग्नु हो । गाउँघरमा अझै पनि झारफुक गर्ने, धामीझाँक्रीकहाँ लैजाने, घरेलु उपचार गर्ने प्रचलनले बिरामीलाई जटिल अवस्थामा पुर्याउँछ। ‘विगतमा धेरै मृत्यु हुने कारणहरु यही ढिलासुस्ती, गलत उपचारका अभ्यासहरु थिए डा।रिसाल भन्छन्–‘तर अहिले चेतना बढेको छ।
सर्पले टोकेको थाहा पाउनेबित्तिकै अस्पताल ल्याउने प्रचलन बढेको छ । यसले बिरामीको ज्यान जोगिएको छ ।’ ८० सालमा भेरी अस्पतालमा १६ जना सर्पदंशका बिरामीले ज्यान गुमाएका थिए । २०८१ सालमा पनि ६ जनाले ज्यान गुमाए, जसमा ५ जना नौ वर्ष मुनिका बालबालिका थिए । उनीहरु मध्ये ३ ७, ८ र ९ वर्षका बालबालिकासमेत थिए । बालबालिकामा मृत्युदर उच्च हुनुको कारण उनीहरुले सर्पले टोकेको थाहा नपाउनु हो । अभिभावकहरुले ढिलासुस्ती गर्दा अवस्था जटिल बन्छ र अन्ततः जीवन बचाउन नसकिने अवस्था आउँछ ।
अस्पतालले यस वर्ष मृत्यु शून्यमा झार्न सक्नुलाई पूर्वाधार सुधार र चिकित्सकहरुको उपलब्धताले पनि ठूलो भूमिका खेलेको छ । केही वर्षअघि सम्म आइसीयूमा मात्रै एक जना डाक्टर हुने अवस्था थियो भने अहिले इमरजेन्सी र ओपीडीमा समेत २४ सैं घण्टा चिकित्सक उपलब्ध हुने गरेका छन् । यसका कारण बिरामीले तत्काल रेस्पोन्स पाउँछन् र उपचारमा ढिलाइ हुन पाउँदैन् । सर्पदंशका बिरामीको उपचारका लागि विशेष टोलीनै छ जसको नेतृत्व एनेस्थेसियोलोजिष्ट डा।पारश पाण्डेले गर्दै आएका छन् ।
सर्पको टोकाइलाई सामान्यतया हल्का चोटपटक ठानेर उपेक्षा गर्न नहुने चेतावनी चिकित्सकहरुले दिँदै आएका छन् । एक्कासी पेट दुख्ने, उल्टी आउने, थुक निल्न गाह्रो हुने, घाँटी दुख्ने, श्वासफेर्न गाह्रो हुने, आँखाको माथिल्लो परेला झर्ने वा आँखा खोल्न गाह्रो हुने सर्पदंशका प्रारम्भिक लक्षण देखिएमा तत्काल अस्पताल पुर्याउन आवश्यक हुन्छ । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदी भन्छन्–‘सर्पदंशका बिरामीलाई अस्पताल ल्याइसकेपछि कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने हाम्रो प्राथमिकता हो। यसैकारणले यो विषयलाई हामीले अत्यन्तै संवेदनशीलतापूर्वक छौं र चिकित्सकको टोली पनि त्यहीअनुसार परिचालन भएको छ ।’
सर्पदंशबाट हुने जोखिम नियन्त्रणका लागि अस्पतालमा उपचार मात्र पर्याप्त छैन । यसलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न समुदायस्तरमा जनचेतना फैलाउनु अपरिहार्य रहेको विज्ञहरु बताउँछन् । जनस्तरमा सावधानीका तरिका, उपचार प्रक्रिया र खतराका लक्षणबारे जानकारी पुर्याउन सकिए धेरै मृत्यु कम गर्न सकिने उनीहरु तर्क गर्छन् । भेरी अस्पताल इमरजेन्सी विभागमा कार्यरत डा.देवेन्द्र आचार्य भन्छन्–‘सर्पदंशलाई विद्यालयस्तरमै पाठ्यक्रमा समावेश गर्नुपर्छ । बालबालिकाले सर्पको टोकाइबारे सचेत हुन पाए जीवन जोगाउन ठूलो मद्दत मिल्छ ।’
सर्पदंशलाई सामान्य रुपमा लिन सकिँदैन । तराईमा विशेषगरी बर्खायाममा सर्पको जोखिम उच्च छ । खेतवारी, घरआँगन र गोठमै सर्प देखिने हुँदा सर्तकता अनिवार्य हुन्छ । धेरै घटनामा देखिएझै विष नभएका सर्पले टोके पनि बिरामीले अस्पतालमा उपचार लिनु पर्छ । अस्पतालमा समयमै पुगे कारण, प्रारम्भिक अवस्थामा विषालु र विषरहित सर्पको टोकाइ छुट्याउन सजिलो हुन्छ । भेरी अस्पतालको अनुभवले देखाएको छ कि समयमै उपचार गरेमा सर्पदंशबाट जीवन बचाउन सकिन्छ ।
सर्पदंशबाट बच्ने उपायहरू-
घर र वरपर सफा राख्ने – झाडी, झारपात, ढुंगारकाठको थुप्रो, गोठ वरिपरि फोहोर जम्न नदिने।
राति हिँड्दा सावधानी – टर्चरबत्ती लिएर मात्र हिँड्ने, खुट्टा नाङ्गो राखेर हिँड्ने नगर्ने।
लुगा र जुत्ता – खेत, गोठ वा झाडीमा जाँदा लामो लुगा, लुगा टोक्ने बुटरजुत्ता लगाउने।
मुसा नियन्त्रण – मुसा बढी हुने ठाउँमा सर्प पनि आउँछ, त्यसैले घर वरिपरि मुसा नियन्त्रण गर्ने।
सर्प देख्दा मार्न नखोज्ने – सुरक्षित टाढा हट्ने, सम्भव भए सम्बन्धित निकायलाई खबर गर्ने।
यदि सर्पले टोकेको खण्डमा-
तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पताल जानुपर्छ।
ढिलासुस्ती नगर्नुहोस्, झारफुक वा घरेलु उपचार नगर्नुहोस्।
बिरामीलाई सकेसम्म शान्त राख्ने, अनावश्यक हिँडडुल गर्न नदिने।
टोकिएको हातरखुट्टा नचलाउन दिने, ढिला नगरी उपचारमा पुर्याउने।