सीमामा एसपी केसीको कडा नजर, तस्करी र सीमा अपराध नियन्त्रणमा सक्रियता

मंगलबार, भदौ २३, २०८३

धनगढी । भारतसँग करिब १०१ किलोमिटर लामो सीमा जोडिएको कैलालीमा सीमा सुरक्षा आफैंमा चुनौतीपूर्ण जिम्मेवारी हो। खुला सीमाका कारण हुने अवैध ओसारपसार, लागुऔषध कारोबार, मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रण सुरक्षा निकायका लागि निरन्तरको चुनौती बन्दै आएको छ। यही चुनौतीबीच सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीले पछिल्लो समय सीमा सुरक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास गरिरहेको छ।

गणको नेतृत्व एसपी खुम केसीले सम्हालेको सात महिना भएको छ। यो अवधिमा सीमा अपराध नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले नियमित सीमा गस्ती, चोक–चोकमै निगरानी, चेकजाँच तथा स्थानीयस्तरमा समन्वयलाई अघि बढाएको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा कडाइ गर्दै सुरक्षा उपस्थितिलाई थप प्रभावकारी बनाइएको छ।

एसपी केसीको नेतृत्वमा सीमा क्षेत्रमा हुने अवैध तस्करीविरुद्ध पनि सशस्त्र प्रहरी खरो रूपमा प्रस्तुत हुँदै लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका प्रयास गर्दै आएको छ। सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधिमाथि निगरानी बढाउनुका साथै शंकास्पद गतिविधिको सूचना संकलन र आवश्यक कारबाहीलाई प्राथमिकता दिइएको छ। केसीको जिल्ला कमान्डमा यस अवधिमा लाखौँ रुपैयाँ बराबरका अवैध सामानसमेत बरामद भइसकेका छन्।

सीमा सुरक्षा केवल सुरक्षा निकायको उपस्थितिले मात्र प्रभावकारी नहुने भएकाले गणले नागरिकसँगको सम्बन्ध र सहकार्यलाई पनि महत्त्व दिएको छ। सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकलाई सीमा अपराध, मानव बेचबिखन तथा अवैध गतिविधिबाट जोगिन सचेत गराउने उद्देश्यले विभिन्न सीमा सचेतना कार्यक्रम सञ्चालन गरिएका छन्।

खुला सीमाको अर्को संवेदनशील पक्ष मानव बेचबिखन तथा ओसारपसार हो। रोजगारी तथा अन्य प्रलोभनमा पारेर सीमा हुँदै मानिस ओसारपसार हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले निगरानी र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ। स्थानीय समुदायसँगको समन्वयलाई यस अभियानको महत्वपूर्ण आधार बनाइएको छ।

सीमा सुरक्षासँगै विपद्का समयमा नागरिकको उद्धारमा पनि नं.३४ गणको सक्रियता देखिएको छ। विशेषगरी वर्षायाममा आएको बाढी, डुबानलगायतका घटनामा सशस्त्र प्रहरी परिचालन भई जोखिममा परेका नागरिकलाई उद्धार गरिएको छ। विपद्को समयमा तत्काल उद्धार तथा राहतका लागि जनशक्ति परिचालन गर्ने तयारीलाई समेत गणले प्राथमिकतामा राखेको छ।

एसपी केसीको नेतृत्वमा कैलालीमा देखिएको सक्रियता उनको सुरक्षा कमान्डको निरन्तरताका रूपमा पनि हेरिएको छ। यसअघि बारास्थित सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गणको कमान्डर रहँदा केसीले गणलाई देशकै उत्कृष्ट गण बनाउन सफल भएका थिए। उत्कृष्ट गण बनाउन सफल गणपतिका रूपमा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट पुरस्कृतसमेत भएका केसीलाई त्यसपछि सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण कैलालीको कमान्ड सम्हाल्ने जिम्मेवारी दिइएको थियो।

कैलालीको जिम्मेवारी सम्हालेपछि पनि केसीले सीमा सुरक्षा र अपराध नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्। सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण, लागुऔषध कारोबारमाथिको निगरानी, मानव बेचबिखनविरुद्धको अभियान तथा स्थानीय नागरिकमा सीमा सुरक्षासम्बन्धी सचेतना अभिवृद्धिलाई समानान्तर रूपमा अघि बढाइएको छ।

सात महिनाको अवधिमा सीमा अपराध नियन्त्रण, अवैध तस्करी नियन्त्रण, लागुऔषधविरुद्धको अभियान, मानव बेचबिखन नियन्त्रण, विपद् उद्धार र नागरिक सचेतनाका क्षेत्रमा देखिएको सक्रियताले नं.३४ गण कैलालीको भूमिका थप प्रभावकारी बनेको देखिन्छ।

सीमामा सुरक्षा उपस्थिति बलियो बनाउँदै अपराध नियन्त्रण गर्ने र अर्कोतर्फ स्थानीय नागरिकलाई सुरक्षा अभियानको साझेदार बनाउने रणनीति एसपी केसीको नेतृत्वको महत्वपूर्ण पक्ष बनेको छ। खुला सीमाका कारण थपिने चुनौतीबीच आगामी दिनमा सीमा अपराध नियन्त्रण र नागरिकमैत्री सुरक्षा अभियानलाई अझ प्रभावकारी बनाउने जिम्मेवारी पनि गणसामु उत्तिकै रहेको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १३:११
प्रतिक्रिया दिनुहोस्