भोटेकोशी बाढीपछि खोज र उद्धारमा सशस्त्र प्रहरी व्यापक परिचालन, ४८ सयभन्दा बढी फिल्डमा

शनिबार, भदौ १३, २०८३

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता व्यक्तिको खोजी तथा प्रभावित नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोज तथा उद्धारलाई तीव्र बनाउँदै सशस्त्र प्रहरीले ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन तथा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न स्थानमा बेस क्याम्प स्थापना गरी उद्धार तथा खोजी कार्य सञ्चालन भइरहेको छ। उद्धार अभियानलाई प्रभावकारी बनाउन सामान्य सुरक्षाकर्मीका अतिरिक्त दक्ष खोज तथा उद्धारकर्मी, शव व्यवस्थापन टोली, मास क्याजुअल्टी भेहिकल, शिविर व्यवस्थापन तथा चिकित्सकीय टोलीसमेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

भत्किएका तथा जोखिमयुक्त संरचनाभित्र फसेकाको खोजीका लागि ४४ सदस्यीय विशेष टोलीसमेत खटाइएको छ। सम्भावित जोखिम भएका स्थानको निगरानी तथा बेपत्ताको खोजीमा प्रविधिको प्रयोग बढाउँदै पाँचवटा ड्रोनसहित विशेष ड्रोन टोली परिचालन गरिएको छ। त्यसैगरी सातवटा के–नाइन डग र गोताखोर टोलीलाई पनि खोजी अभियानमा प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार हालसम्म आफ्नै टोलीको प्रत्यक्ष प्रयासबाट ३२ जनाको उद्धार गरिएको छ भने अन्य सुरक्षा तथा उद्धार निकायसँगको समन्वयमा गरी १ हजार ४ सय ७३ जनालाई सकुशल उद्धार गरिएको छ।
भोटेकोशीदेखि त्रिशूली नदी आसपासका प्रभावित क्षेत्रमा उद्धारलाई व्यवस्थित बनाउन ४८ वडामा रहेका १ हजार २ सयभन्दा बढी विपद् सूचकमार्फत स्थानीय अवस्थाबारे सूचना संकलन भइरहेको छ। प्राप्त सूचनाका आधारमा जोखिममा रहेका नागरिकको पहिचान गरी उद्धार तथा सहायता परिचालन गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रभावित नागरिकलाई अस्थायी रूपमा सुरक्षित राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएको छ। साथै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने र आवश्यक सामग्रीको ढुवानीमा समेत सशस्त्र प्रहरी सक्रिय रहेको छ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अभाव हुन नदिन घटनाकै दिनदेखि नुवाकोटमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरबाट हालसम्म १४३ जनाले उपचार सेवा लिइसकेका छन्।

त्यस्तै, प्रभावित क्षेत्रमा विद्युत् तथा ऊर्जाको आवश्यकता पूरा गर्न आठवटा जेनेरेटर, आवश्यक इन्धन, पाँचवटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डरलगायत सामग्री सुरक्षित रूपमा पुर्‍याइएको छ। उद्धारसँगै बेपत्ताको खोजी र शव व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ। सशस्त्र प्रहरीको प्रत्यक्ष पहलमा बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११० जनाको शव फेला पारिएको जनाइएको छ।

यसैबीच, भोटेकोशी बाढीका कारण नुवाकोटमा फसेका ५९ जनालाई सशस्त्र प्रहरीका सवारीसाधनमार्फत काठमाडौं ल्याइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा सहायता आवश्यक परे सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ। शुक्रबार मात्रै सशस्त्र प्रहरी प्रमुख नारायणदत्त पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेर अवलोकन गर्दै सशस्त्र प्रहरी कर्मचारीलाई उद्धारमा प्रभावकारी ढंगबाट परिचालन हुन निर्देशन दिएका थिए।

 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ०७:५८
प्रतिक्रिया दिनुहोस्