सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ परेकी छन्। प्रहरीले गुरुङसँगै लीला लामा पनि पक्राउ गरेको जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले इन्स्पेक्टर कल्पना र लीलालाई ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बलको अनुरोधपछि प्रहरीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार स्कुलको बैंक खातामा रहनुपर्ने करोडौं रकम व्यक्तिगत खातामा राखी दुरुपयोग गरिएको आरोप छ। उजुरीमा विगत चार वर्षको अवधिमा करिब साढे चार करोड रुपैयाँ व्यक्तिगत खातामार्फत चलाइएको उल्लेख गरिएको छ।
यस घटनापछि सशस्त्र प्रहरी मुख्यालयले पछिल्ला चार आर्थिक वर्षको बैंकिङ कारोबारको विवरण संकलन गरी आन्तरिक छानबिन थालेको छ। लामो समयदेखि विद्यालयको लेखा शाखामा कार्यरत गुरुङ अनियमितताको मुख्य जिम्मेवार रहेको आशंका गरिएको छ।
प्रकरणमा सशस्त्र प्रहरीका अन्य केही अधिकारीको पनि संलग्नता हुन सक्ने आशंकासहित अनुसन्धान अघि बढाइएको छ। कल्याण महाशाखामा कार्यरत लेखापाल डीएसपी महेन्द्र हमाल पनि छानबिनको दायरामा रहेको स्रोतले जनाएको छ। विद्यालय कल्याण महाशाखाको बजेटबाट सञ्चालन हुँदै आएको छ।
यस्तै, विद्यालयमा भएको भनिएको अनियमितताबारे जानकारी हुँदाहुँदै सम्बन्धित निकायलाई समयमै जानकारी नगरिएको आरोप पनि लागेको छ।यसअघि २०८२ मंसिरमा पनि एपीएफ स्कुलको रासन व्यवस्थापनमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो। हालको घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। इन्स्पेक्टर कल्पनाले आफ्नो माथिल्लो तहका उच्च अधिकृतहरुसँग राम्रो सम्पर्क रहेको भन्दै स्कुलमा पनि कसैलाई नटेर्ने गरेको बुझिएको छ।