बर्दियामा ट्रकको ठक्करबाट ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, जवान घाइते

आइतबार, जेठ ३१, २०८३
Honor 600 pro

बर्दिया । बर्दियामा ट्रककको ठक्करबाट ड्युटीमा रहेका  सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।  बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ बर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

दुर्घटना लगत्तै उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याउँदा चिकित्सकले आज बिहान साढे ५ बजेतिर उनलाई मृत घोषणा गरेका थिए।

बर्दिया प्रहरी प्रबक्ता डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परि बासगढी नगरपालिका–८ ककौराका ३५ बर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जङ शाह घाइते छन् । उनको अवस्था मध्यम रहेको छ । जिल्लामा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर बाँके रिफर गरिएको डीएसपी बोहराले बताए।

मृतक कडेल र घाइते शाह दुवै जना फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत थिए । घाइते ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५, समरी हेटौंडाका ४० बर्षीय निरन्जन दर्जीको जिल्ला अस्पताल बर्दिया गुलरियामा उपचार भइरहेको छ । उक्त दुर्घटनामा परि एउटा भैंसीपनि मरेको छ ।

गुलरिया नगरपालिका– ११ लालपुरमा बिहान पैदल हिडिरहेका सशस्त्र प्रहरी सहायक हवल्दार कडेल, शाह र भैंसीसमेतलाई तीब्र गतिको ट्रकले आज बिहान सवा ५ बजेतिर ठक्कर दिएको थियो । बिहानै अवैध रूपमा भारततर्फ लैजान लागिएका दु्ई वटा भैंसी र एउटा पाडोलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पछि ती भैंसी र पाडोलाई भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको  प्रहरीले जनाएको छ।

ट्रकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्