कांग्रेसलाई एकताबद्ध बनाउन नरम हुन तयार छु: गगन थापा

बिहीबार, भदौ २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन् । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताए। 

“पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु”, उनले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु ।” पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोहीअनुसार अगाडि बढ्नका लागि लागि पर्ने उनले बताए ।

देशमा आइपरेका जटिल समयहरूमा कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै उनले नागरिक माझ विश्वास र भरोसा जगाउने बताए । स्व श्रेष्ठले पार्टीलाई मजबुत बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

विपद्को समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाको भनाइ छ । 

शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतका वक्ताहरूले स्व श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गरेका थिए ।

महाधिवेशनमा होमियो कांग्रेस, वडा अधिवेशन असोज ३ देखि 
यता कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ गतेदेखि शुरू हुने भएको छ । कांग्रेसले यसअघि भदौ २४ गतेदेखि शुरू गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण केही पर धकेलिएको हो ।

कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले वडा अधिवेशन असोज ३ र ४ गते गर्न लागिएको जानकारी दिए । उक्त दिन देशभरका छ हजार ७४३ वडामा अधिवेशन हुनुका साथै क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ ।

आगामी असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ भने असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको संयोजक खड्काले जानकारी दिए । केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ । 

संयोजक खड्काका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहको समन्वयमा अधिवेशन सम्पन्न गरिनेछ ।

नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशको अधिवेशन आगामी असोज १० गतेभित्र सम्पन्न गर्ने कार्यतालिका छ । जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समय तालिका दोस्रो चरणमा प्रकाशित गरिने संयोजक खड्काले बताए ।

यता, संस्थापन इतरको शेरबहादुर देउवा समूहले महाधिवेशनका लागि अग्रसर हुनुको सट्टा समानान्तर शैलीमा छुट्टै महाधिवेशन गर्ने बताएको छ । प्रतिनिधि सभाको चुनावका बेलामा कांग्रेसको पक्षमा प्रचारमा लाग्नुको सट्टा उपचारको बहानामा सिंगापुर गएका देउवा केही दिनअघि मात्रै सिंगापुरबाट फर्केर आफ्नै अभ्यास गरिरहेका छन् । 

उनी पार्टी एकताको पक्षमा भन्दा पनि सर्वोच्च अदालतबाटै आफ्नै पक्षमा फैसला गराएर विशेष महाधिवेशनबाट नेतृत्वमा आएको गगन थापा पक्षलाई अस्वीकार गर्ने नीति लिएका छन् । 

देउवालाई निर्वाचन आयोगले अवैध भनिसकेको छ । सर्वोच्चले पनि गत बैशाख ४ गते गगन थापाको कार्यसमितिलाई नै आधिकारिक भनेर फैसला गरिसकेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १७:५२
प्रतिक्रिया दिनुहोस्